पोखरा, १९ श्रावण, पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा अर्घाखाँचीमा मापन गरिएको छ, जहाँ ११४ मिलिमिटरभन्दा बढी वर्षा भएको छ। यो मात्रा ‘धेरै भारी वर्षा’को श्रेणीमा पर्दछ।

यसैगरी, दाङमा १०२.४ मिलिमिटर, रुपन्देहीमा १०१.८ मिलिमिटर र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा भएको छ। मौसम विज्ञानको परिभाषा अनुसार, २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘धेरै भारी वर्षा’ मानिन्छ।

यस्तै, लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ९० मिलिमिटर वर्षा मापन भएको छ। ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी वर्षा’को रुपमा लिइन्छ।

आज बिहान पनि धादिङ, बारा, रौतहट र पाल्पामा अत्यधिक वर्षा जारी रहेको विभागले जनाएको छ। आज पनि देशभरको मौसम बदली भई सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

पछिल्लो समय निरन्तरको वर्षाका कारण नदीहरूको जलसतह बढेको छ। यसले गर्दा नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0