पोखरा १०, श्रावण – हाल नेपालभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भू-भागमा सामान्य मौसमी गतिविधि रहने अनुमान गरिएको छ।
हाल देशभरका पहाडी भू–भागमा सामान्यतया बदली छाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो देशभरका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ।
यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्र तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकाले महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ।





























