पोखरा, ३ साउन। संघीय खानेपानी मन्त्री प्रदीप यादवले सरकारले देशका कुनै पनि समुदायलाई विकासको मूलधारबाट बाहिर नराख्ने स्पष्ट उद्देश्यसहित कार्य गरिरहेको बताएका छन्। सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नीति सामाजिक न्याय र समावेशी विकाससँग गाँसिएको बताए।
उनले सबै नागरिकलाई सुरक्षित, स्वच्छ र भरपर्दो खानेपानी तथा सरसफाइ सुविधा पुर्याउनु सरकारको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै खानेपानी मन्त्रालय जनताको आधारभूत आवश्यकतासँग जोडिएको सेवा–उन्मुख सामाजिक मन्त्रालय भएकाले मन्त्रालयको काम कारबाही नागरिकमैत्री हुने बताए। मन्त्री यादवले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै शुद्ध खानेपानीको पहुँच वृद्धि गर्न योजनाबद्ध ढंगले कार्यरत रहेको प्रष्ट पारे।
यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दीर्घकालीन समावेशी दृष्टिकोणका साथ अगाडि बढिरहेको उल्लेख गर्दै विकासमा कुनै पनि वर्ग, क्षेत्र वा समुदायलाई पछाडि नपार्ने नीतिगत प्रतिबद्धता दोहोर्याए। खानेपानी विभागको ९० प्रतिशत वित्तीय प्रगति कार्यसम्पादन क्षमताको दिगोपनको प्रमाण भएको समेत उनले बताए।
झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट रामधुनी नगरपालिका वडा नं. १, २, ३ र ५ का करिब २२ हजार ७८७ नागरिक र ४ हजार ३१ घरधुरी लाभान्वित हुने क्षेत्रीय आयोजना कार्यालय इटहरी सुनसरीका प्रमुख महेसी महतोले जानकारी दिए। उनका अनुसार स्वच्छ पानीको पहुँच विस्तारले नागरिकहरूको स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मन्त्री यादवले खानेपानी क्षेत्रमा भएका यस्ता आयोजनाले विकासका सम्भावनालाई मूर्तरूप दिने भन्दै यस्ता प्रयासहरू अझ सशक्त बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।
































