पोखरा, ३ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशभरका सम्पूर्ण जलविद्युत् आयोजना र प्रवर्द्धकहरूलाई आगामी तीन दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले श्रावण ३, ४ र ५ गते देशभर भारी वर्षा भई प्रमुख नदीहरूमा पानीको सतह सतर्कता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेपछि इप्पानले विज्ञप्ति जारी गर्दै यसबारे पूर्वतयारी गर्न आग्रह गरेको हो।

विभागका अनुसार पूर्वी नेपालका कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायत नदीहरूमा भारी वर्षाका कारण बाढीको सम्भावना अत्यधिक छ। कोशी नदी सतर्कता तह नजिक पुग्ने अवस्था रहेको भन्दै, पूर्वी मौसमी प्रणाली क्रमशः पश्चिमतर्फ सर्ने सम्भावनासमेत जनाइएको छ। बागमती नदीमा बाढी आउँदा काठमाडौं उपत्यकासहित तल्लो क्षेत्र प्रभावित हुने, साथै महाकाली नदीमा पनि श्रावण ५ गतेसम्म उच्च जोखिम रहने उल्लेख छ।

इप्पानले निर्माणाधीन तथा सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाहरूलाई सम्भावित मानविय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी थाल्न आग्रह गरेको छ। यस सन्दर्भमा, नदीको माथिल्लो तटीय क्षेत्रमा रहेका आयोजना प्रवर्द्धकहरूले तल्लो क्षेत्रमा रहेका आयोजना तथा विद्युत् प्राधिकरणलाई समयमै बाढीको सूचना दिने, गेट बन्द गर्ने, र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्यमा सहकार्य गर्नुपर्नेमा इप्पानको जोड छ।

भोटेकोशी नदीको बाढीबाट असार २४ गते रसुवा र नुवाकोटमा भएका क्षतिलाई स्मरण गराउँदै इप्पानले यस्ता घटना दोहोरिन नदिन पूर्व सूचना र समन्वय अनिवार्य भएको जनाएको छ। विपद् आइपरेमा सबैभन्दा पहिला मानवीय क्षति रोक्न आवश्यक कदम चाल्न पनि इप्पानले आग्रह गरेको छ।

यसैगरी, जलविद्युत् आयोजनाहरूले स्थानीय गेज स्टेशनसँग समन्वय गरेर सूचना प्रवाह गर्न, विपद् हुँदा इप्पानलाई यथाशीघ्र जानकारी गराउन पनि अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0