पोखरा, २८ असार। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले अनुशासन समितिबाट भएको कारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्। मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत औपचारिकरूपमा उक्त माग गरेका हुन्।

उनीहरूले केन्द्रीय समितिको बैठक नबसी, समिति समक्ष निर्णय पेस नगरी एकतर्फी ढंगले कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन्। गठबन्धन नगर्ने निर्णय महासमिति र केन्द्रीय समिति दुवैबाट भइसकेको अवस्थामा गठबन्धनकै विषय उठाएर अनुशासनको कारबाही गर्नु अनुचित र खोटपूर्ण रहेको उनीहरूको ठहर छ।

नेताहरूले अनुशासन समितिको निर्णय दोहोरो मापदण्डमा आधारित, पूर्वाग्रही र गुटगत स्वार्थबाट प्रेरित भएको आरोप लगाउँदै यस्तो निर्णयले पार्टी थप कमजोर बन्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार पार्टीभित्र बहस र अन्तरसंवादको संस्कारलाई विस्थापित गर्दै गुटगत नियन्त्रणमा लैजान खोजिएको संकेत देखिन्छ।

सम्बन्धित नेताहरूले आन्तरिक लोकतन्त्रको सम्मान गर्दै सबै पक्षको सहभागिता रहने गरी तत्काल केन्द्रीय समिति बैठक डाक्नुपर्ने आवश्यकता औंल्याएका छन्। अन्यथा यसले पार्टीको एकता र सुदृढीकरण प्रक्रियामा नकारात्मक असर पर्ने उनीहरूको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0