पोखरा, २८ असार। २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अभिभावकहरूले आफ्ना सन्तानले ल्याएका उच्च अंकको उत्सव मनाइरहँदा वर्तमान शिक्षा प्रणालीमाथि गम्भीर प्रश्नहरू उठेका छन्। यो उत्सवले शिक्षालाई जीवनमार्गभन्दा पनि प्रतिस्पर्धा जित्ने खेलमैदान बनाएको र यसबाट बालबालिकाको मानसिक, शारीरिक तथा भावनात्मक स्वास्थ्यमाथि नकारात्मक असर परिरहेको चिन्ता व्यक्त गरिएको छ।
बाल्यकाल मानव जीवनको आधारशिला हो, जहाँ शारीरिक वृद्धि विकाससँगै संसार बुझ्ने तीव्र इच्छा र जिज्ञासा पलाउँछ। तर, आजको समाजमा बालबालिकाको यो अमूल्य बालापन एक किसिमले ‘अपहरणमा’ परेको देखिन्छ। बच्चा जन्मेको तीन वर्षभित्रै उनीहरू किताबको बोझ, होमवर्क, टेस्ट, ट्युसन र अंकको प्रतिस्पर्धात्मक चक्रव्यूहमा फस्न बाध्य छन्। प्राकृतिक विकासलाई पाखा लगाएर बालबालिकालाई एउटा यान्त्रिक साँचोमा ढाल्ने प्रयास भइरहेको छ, जसले अभिभावकको ‘कम समयमा बढी प्रतिफल’ प्राप्त गर्ने मानसिकतालाई प्रतिबिम्बित गर्दछ।
शिक्षाको मूल उद्देश्य व्यक्तिको सर्वाङ्गीण विकास, विवेक विस्तार र जीवनोपयोगी ज्ञान हुनुपर्नेमा आज त्यो ‘कति नम्बर ल्यायौं?’ भन्ने प्रश्नमा खुम्चिएको छ। छोराछोरीले फोर जीपीए ल्याउँदा उत्कृष्ट अभिभावकत्वको तक्मा भिराउने सोचले बालबालिकालाई उनीहरूको ‘मूल्य’ मा होइन, ‘उपलब्धि’ मा मात्र तौलन सिकाएको छ। यसले बालबालिकालाई आफ्नो रुचि, क्षमता र आत्मसम्मानलाई कुल्चिएर अभिभावकका अधुरा सपना पूरा गर्ने दौडमा होमिन बाध्य बनाएको छ। यो अवस्था घोडादौडमा इनाम जित्न घोडालाई चाबुक हानेर कुदाएजस्तै भयावह बन्न पुगेको छ, जहाँ बालबालिका मालिकलाई खुशी पार्न होइन, दबाबको पीडाले दौडिरहेका छन्। यो प्रवृत्तिले शिक्षाको व्यवसायीकरण र समाजमा हुर्कंदो गलत प्रतिस्पर्धालाई उजागर गर्दछ।
नेपालको शिक्षा प्रणालीमा रहेका त्रुटिहरूले यस समस्यालाई थप जटिल बनाएको छ। हाम्रो पाठ्यक्रम सृजनात्मक नभई परीक्षाकेन्द्रित छ, जसले बालबालिकालाई रट्न बाध्य बनाउँछ। उनीहरूको उमेर अनुसारको उत्सुकता, खेल र जिज्ञासालाई सम्बोधन गर्न नसक्दा बालशिक्षा रमाइलो र सृजनात्मक सिकाइभन्दा टाढा भइरहेको छ। शिक्षक, विद्यालय, परीक्षा बोर्ड र शिक्षा मन्त्रालय सबै अंकका आधारमा सफलता नाप्न अभ्यस्त हुँदा समावेशिता, विविधता र सृजनशीलता हराउँदै गएको छ। निजी र सार्वजनिक विद्यालयबीचको गहिरो खाडलले शैक्षिक क्षेत्रमा विभेद बढाएको छ, जहाँ एकथरी बालबालिका सुविधा र अवसर पाउँछन् भने अर्काथरी आधारभूत पठनपाठन क्षमताबाट समेत वञ्चित छन्। यस्तो विषमताले दीर्घकालीन रूपमा सामाजिक असमानतालाई जन्म दिने निश्चित छ।
शिक्षाले चरित्र निर्माण, जीवन सहज र देश निर्माणमा नागरिकलाई अग्रसर गराउनुपर्नेमा आज यो संस्कारविहीन र जीवनविमुख बन्दै गएको छ। बालबालिकाले अंकको परीक्षा पास गरे पनि जीवनको परीक्षा पास गर्न सकिरहेका छैनन्। उनीहरूसँग अंक र डिग्री भए पनि आत्मविश्वास र जीवन चलाउने सीपको अभाव खट्किरहेको छ। मानवता, नैतिकता, करुणा, सहिष्णुता, चरित्र निर्माण, श्रमको सम्मान, प्रकृतिप्रतिको प्रेम, ज्येष्ठ नागरिकप्रतिको सम्मान, संस्कृति र परम्परा जस्ता मूल्यहरू शिक्षामा उपेक्षित छन्।
एकतिर अनावश्यक प्रतिस्पर्धाको चपेटामा बालबालिका छन् भने अर्कोतिर अझै पनि थुप्रै बालबालिका पढ्न नपाएर बालश्रममा संलग्न हुन बाध्य छन्। ग्यारेज, होटल, रेस्टुरेन्ट, घरेलु कामदार वा गाईवस्तु चराएर पेट पाल्नुपर्ने अवस्थामा रहेका बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित छन्। समावेशी पहुँच नहुँदासम्म शैक्षिक समानताको कुरा भाषणमा मात्र सीमित रहन्छ।
शैक्षिक दबाबका कारण बालबालिकामा डिप्रेसन, आत्मग्लानि, त्रास, तनाव र आत्महत्यासम्मका घटनाहरू देखिन थालेका छन्। धेरै केटाकेटी पढाइको नाममा निद्रा गुमाउँछन्, साथी बनाउँदैनन् र मेसिनझैं व्यवहार देखाउन थाल्छन्। यस्तो अवस्थामा शिक्षाले जीवन बनाउने होइन, बरु जीवनलाई अलमल्याउने खोस्टो साबित भएको छ। फिनल्यान्ड जस्ता देशहरूले अपनाएको बालमैत्री, खेलमुखी र परीक्षणविहीन प्रारम्भिक शिक्षाको उदाहरणबाट नेपालले सिक्न जरुरी छ। त्यहाँ विद्यार्थीहरू ७ वर्षपछि मात्र विद्यालय जान्छन्, होमवर्क छैन र प्रतिस्पर्धामा होइन, सहकार्यमा आधारित शिक्षा हुन्छ, जसले सन्तुलित, आत्मविश्वासी र सृजनशील व्यक्तित्व विकासमा मद्दत गर्दछ।
अभिभावक र सरकार दुवैले शिक्षा प्रणालीमा संरचनागत सुधार गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नुपर्दछ। प्रतिस्पर्धाको आधारमा होइन, आफ्नै माटो र हावापानी सुहाउँदो शिक्षामा जोड दिनुपर्छ, जसले बालबालिकालाई आफ्नो प्वाँख फैलाएर उडान भर्न सक्षम बनाओस्। उनीहरूको रुचि, क्षमता र स्वाभाविक विकासलाई सम्मान गर्दै विद्यालयले पनि सिकाइमा सामूहिकता, सहकार्य र संस्कारयुक्त पाठ्यक्रममा जोड दिनुपर्छ। नेपाल सरकारले शिक्षा प्रणालीको पुनरावलोकन गर्दै शिक्षामा मानसिक स्वास्थ्य, जीवन सीप, कला, खेलकुद र सामाजिक मूल्यहरूलाई अनिवार्य रूपमा समावेश गर्नुपर्दछ। तब मात्र समाजले ‘परीक्षा पासभन्दा बढी मान्छे बनेको छ कि छैन’ भन्ने प्रश्न उठाउन सक्छ।
शिक्षा जीवन बाँच्न सिकाउने माध्यम हो, दौड जित्ने कुनै खेल होइन। हामीले आफ्ना सन्तानलाई घोडादौडमा उभ्याएर पुरस्कार जित्ने वा समाजमा प्रतिष्ठा बढाउन बाध्य पार्नुहुँदैन। सन्तानले विद्यालयमा प्रथम ल्याउँदा हामी किन खुशी हुन्छौं? के विद्यार्थी स्वयं खुशी छ? ऊ आफैं थकित त छैन? यस्ता प्रश्नहरूप्रति हामीले गम्भीरतापूर्वक घोत्लिन जरुरी छ। यदि साँच्चै हामी आफ्ना सन्तानलाई संस्कारयुक्त असल मान्छे बनाउन चाहन्छौं भने उनीहरूमा स्वतन्त्र, संवेदनशील र विवेकशील मान्छे बन्ने बाटो खोल्नुपर्छ। शिक्षाको यो घोडादौड अब रोकिनुपर्छ। चाबुक होइन, करुणा चलाऔं; दबाब होइन, प्रेरणा दिऔं; प्रमाणपत्र होइन, जीवन र संस्कार बाँडौं। शिक्षा यस्तो होस् जसले बालअधिकारको ख्याल राखोस्, मुटुमा संस्कार रोपोस् र हातमा कला-सीप जन्माओस्। तब मात्र शिक्षाले अन्धकार मेटाउने आफ्नो वास्तविक उद्गार प्रमाणित गर्न सक्छ।































