पोखरा, २० असार। बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि औपचारिक छलफल आजदेखि सुरु भएको छ। प्रदेश सरकारद्वारा यही असार १ गते प्रस्तुत गरिएको रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेटबारे प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा सार्वजनिक गर्न थालेका हुन्।

आजको बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले बोल्दै प्रस्तुत बजेट जनताको चाहना र प्रदेशको यथार्थ आवश्यकताअनुसार नआएको टिप्पणी गरे। उनीहरुले बजेटमा प्राथमिकताको स्पष्ट अभाव रहेको र जनताले महसुस गर्नसक्ने कार्यक्रमलाई समावेश गर्नुपर्ने माग गरे। कतिपय सदस्यहरुले विकास परियोजनाहरूको सन्तुलन, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा यथोचित विनियोजन नभएको भन्दै बजेट पुनरावलोकन गरिनुपर्नेमा जोड दिए।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने विधेयक प्रस्तुत गरेका थिए। उनले विधेयक प्रदेशसभामा विचार गरियोस् भनी प्रस्ताव पेस गरेका थिए, जसलाई सभामा छलफलका लागि सर्वसम्मत अनुमोदन गरिएको सभामुख भुवनकुमार पाठकले घोषणा गरेका थिए।

प्रदेशसभा सचिवालयका अनुसार बजेटमाथिको छलफल भोलि शनिबार पनि निरन्तर हुनेछ। शनिबार दिउँसो १ बजे बस्ने बैठकमा अन्य सदस्यहरुले पनि धारणा राख्नेछन्। प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा बजेटको प्रभावकारिता कति देखिन्छ भन्नेबारे छलफलले थप दिशा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0