पोखरा, २० असार। जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाका लागि जारी गरेको अद्यावधिक मौसमीय आँकलनअनुसार मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ। विभागका सूचना अधिकारी दिनाकर कायस्थका अनुसार कोशी प्रदेशको दक्षिणी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने बाँकी देशभर सरदरभन्दा बढी वर्षा हुने अपेक्षा गरिएको छ।

विभागले यसअघि जेठ १८ मा सार्वजनिक गरेको प्रारम्भिक आकलनमा अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने देखाएको थियो। तर पछिल्लो समय मनसुनको गतिविधि, जलवायु प्रणालीमा आएका परिवर्तन र विभिन्न अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त पूर्वानुमानको विश्लेषणका आधारमा नयाँ आँकलन सार्वजनिक गरिएको हो।

नयाँ विवरणअनुसार कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनीको उत्तरी भाग र गण्डकी प्रदेशको अधिकांश भागमा ५५ देखि ६५ प्रतिशत सम्भावनासहित सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तरपूर्वी क्षेत्र, बागमती र कोशी प्रदेशको उत्तरी भागमा पनि वर्षा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

त्यस्तै सुदूरपश्चिमको उत्तरी क्षेत्र, लुम्बिनीको दक्षिणपूर्वी भाग, बागमतीको दक्षिणी भाग तथा कोशीको मध्य भागमा वर्षा बढ्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। तर मधेस प्रदेशका मध्य र पूर्वी भू–भागमा भने यही प्रतिशतको सम्भावनामा वर्षा सरदरभन्दा कम हुने बताइएको छ।

विभागले यो आकलन विश्व मौसम संगठन, साउथ एसियन सेसनल क्लाइमेट आउटलुक फोरम, एल्निनो र साउदर्न ओसिलिएसन प्रणाली तथा हिन्द महासागरमा विकसित इन्डियन ओसन डिपोल लगायतका जलवायु सूचकहरूको विश्लेषणमा आधारित रही गरिएको जनाएको छ। यससँगै युरोप र एसियामा अघिल्लो हिउँद तथा प्री–मनसुन अवधिमा परेको हिउँ, र अन्य मौसमी कारकहरूको समेत समायोजन गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0