पोखरा, २० असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यको प्रशस्त लगानी हुँदाहुँदै पनि सामुदायिक विद्यालयहरूको नतिजा कमजोर हुनुका कारण पहिचान गर्न जरुरी रहेको बताएका छन्। झापाको हल्दिबारी गाउँपालिकामा आयोजित एक समारोहमा बोल्दै उनले शिक्षा क्षेत्रमा निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको परिणाम खस्कनु चिन्ताजनक रहेको बताए।

पूर्णसाक्षर पालिका घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी लिङ्देनले भौतिक पूर्वाधार, शिक्षकको तलब, तालिम लगायतमा सामुदायिक विद्यालयमा पर्याप्त लगानी भइरहेको भए पनि अपेक्षित सुधार नआएकोप्रति चिन्ता व्यक्त गरे। उनले शिक्षकको अभाव भएका क्षेत्रमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गर्नुपरेको उल्लेख गर्दै संरचना, जनशक्ति र तालिमको कमजोरी के हो भनी गहिरो समीक्षा गर्नुपर्ने बताए। उनका अनुसार आजका विद्यार्थीले नै भविष्यको राष्ट्र निर्माण गर्ने भएकाले शिक्षा क्षेत्रको सुधार अत्यन्तै महत्वपूर्ण छ।

सोही अवसरमा शिक्षा सत्र २०८१ को एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका हल्दिबारीका ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले सम्मान प्रदान गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार यस वर्ष सामुदायिक विद्यालयबाट ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको २७ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो। यद्यपि निजी विद्यालयबाट उत्तीर्ण हुनेको संख्या अझै बढी रहेको तथ्याङ्कमा देखिएको छ।

कार्यक्रममा गाउँपालिकाले तयार पारेको पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको थियो। शिक्षा शाखा प्रमुख जनककुमारी राईले साक्षरता दर ९५ प्रतिशत पुगेको जानकारी दिँदै शिक्षा सुधारमा योजना मार्गदर्शक हुने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, हल्दिबारीलाई पूर्णखोप पालिका सुनिश्चितता दिगोपना घोषणा पनि गरिएको थियो। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले पालिका अध्यक्षलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0