
पोखरा, १७ असार। गृहमन्त्री रमेश लेखकले राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै सुरु भएको राजावादी आन्दोलन अब निष्तेज भइसकेको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार सरकारको तर्फबाट मन्त्रालयको प्रगति विवरण पेश गर्दै गृहमन्त्री लेखकले फागुन २५ गतेदेखि चर्किएको आन्दोलन अब उठ्न नसक्ने अवस्थामा पुगेको बताए।
उनले केहीले राजावादी आन्दोलन सफल हुने आशंका व्यक्त गरे पनि शासन व्यवस्था उल्ट्याउने प्रयास विफल भइसकेको दाबी गरे। गणतन्त्रविरुद्धको गतिविधि मौन अवस्थामा पुगिसकेको उल्लेख गर्दै उनले धार्मिक उत्तेजना र सीमा पारका गतिविधिको खतरा पनि हाललाई टरेको बताए।
सवारी दुर्घटना, लागुऔषध दुरुपयोग, आत्महत्या र साइबर अपराधजस्ता चुनौतीहरू गम्भीर रूपमा देखिएको भन्दै लेखकले यिनलाई नियन्त्रण गर्न विशेष पहल थालिएको जानकारी दिए। उनले गृहमन्त्री बनेको अवधिमा १७ वटा समूह आन्दोलित रहेको र सहकारीदेखि मिटरब्याजसम्मका मुद्दाहरूमा आन्दोलन भएको स्मरण गर्दै अहिले माइतीघर मण्डलसमेत खाली भएको बताए।
गृहमन्त्री लेखकले सबै समस्या समाधान भएको होइन तर सुधारको प्रयास जारी रहेको र दलका नेताहरूबाट सुझावको अपेक्षा रहेको स्पष्ट पारे। उनले पुराना अपराधमा पनि व्यक्तिहरू पक्राउ परिरहेकाले कानूनको कार्यान्वयनमा सरकार दृढ रहेको संकेत दिए।




























