पोखरा, १६ असार। कैलालीस्थित मोहना नदीमा बाढीको सतह सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेपछि जल तथा मौसम विज्ञान विभागले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। विभागले जोखिम क्षेत्रका स्थानीयवासीलाई एसएमएस मार्फत सचेत गराउँदै आज बेलुकासम्म उच्च सावधानी अपनाउन अनुरोध गरेको हो।
आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जलमापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर मापन गरिएको छ। यो सतह सतर्कताको तह पार गरेर खतराको सम्भावित अवस्थामा प्रवेश गर्न सक्ने स्तरमा पुगिसकेको विभागको भनाइ छ। विभागका अनुसार मोहना नदीमा ३ मिटर जलस्तर पुगेपछि सतर्कता तह मानिन्छ भने ३.६ मिटर पुगेपछि खतराको तहमा पुगिएको मानिन्छ।
बाढीको बहाव तीव्र गतिमा बढ्दै गइरहेकोले नदी किनारका घरधुरीमा तत्काल सावधानी अपनाउन, आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न र सम्भव भएसम्म सुरक्षित स्थानतर्फ सर्न विभागले सुझाव दिएको छ।































