पोखरा, १५ असार। विद्यालय तहमा अध्यापन गर्न अब शिक्षा संकायबाहेकका अन्य विषय पढेकाहरूले पनि अवसर पाउने भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्णयअनुसार विद्यालय शिक्षक बन्न चाहने व्यक्तिले शिक्षा संकायको डिग्री अनिवार्य नपर्ने तर शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लाइसेन्स परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।
समितिको बैठकले शिक्षकलाई समयानुकूल दक्ष बनाउनका लागि पाठ्यक्रम परिवर्तनका बेला वा हरेक पाँच वर्षमा सरकारले तोकेको पुनर्ताजगी (refresher) तालिम लिने र अध्यावधिक प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान पारित गरेको छ।
यस निर्णयसँगै अब शिक्षक बन्ने आकांक्षा राख्ने अन्य विषयका स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूका लागि नयाँ ढोका खुलेको छ। साथै, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तालिम र लाइसेन्स प्रणालीलाई थप मजबुत बनाउने उद्देश्य रहेको समितिले जनाएको छ।





























