पोखरा, १२ असार।
केही दिनयता नेपालमा दिउँसो चर्को घाम लाग्ने र रातको समयमा मात्र पानी पर्ने क्रम चलिरहेको छ। मौसमविदहरूले यसलाई मनसुनको प्राकृतिक विशेषताको रूपमा व्याख्या गरेका छन्। मौसमविद गोविन्द झाका अनुसार, मनसुनको समयमा दिउँसोको तुलनामा रातमा बढी वर्षा हुनु सामान्य हो। यसलाई मनसुन प्रणालीको एउटा पाटोको रूपमा लिनुपर्छ।
नेपालमा यस वर्ष जेठ १५ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको थियो र २३ औं दिनमा यो सुदूरपश्चिमसम्म फैलिएको थियो। यद्यपि, मनसुन अहिले पूर्ण रूपमा सक्रिय भइसकेको छैन, तर पनि केही स्थानमा राम्रै पानी परिरहेको छ। हालै मात्र कास्कीको लुम्ले र लमजुङको खुदीबजारलगायतका क्षेत्रमा भारी वर्षा भएको थियो। यसै क्रममा काठमाडौंमा पनि राम्रो पानी पर्दा बागमती, विष्णुमती र धोबी खोलामा जलस्तर बढेकोले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन एसएमएसमार्फत सचेत गराएको थियो। तराई-मधेस बाहेक अन्य प्रदेशहरूमा बेलाबेला वर्षा भइरहेको मौसमविद झाले बताएका छन्।
मनसुन सक्रिय हुँदै, न्यूनचापीय रेखाको विकास
अहिले बंगालको खाडी र दक्षिण भारतमा बलियो न्यूनचापीय प्रणाली विकसित भइनसकेकाले मनसुन केही कमजोर देखिएको छ। तर, मौसमविद झाका अनुसार, अबको केही दिनभित्रै मनसुन सक्रिय हुने सम्भावना छ, जसका कारण तराई-मधेसका जिल्लाहरूमा पनि राम्रो वर्षा हुने अपेक्षा गरिएको छ। मनसुनको न्यूनचापीय रेखा (Monsoon Trough) बिस्तारै विकसित हुँदै गइरहेको र त्यसको स्थानअनुसार कुन क्षेत्रमा बढी वर्षा हुन्छ भन्ने निर्धारण हुने उनले बताएका छन्। अब छिट्टै देशका सबै क्षेत्रमा राम्रो वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





























